Sep 24, 2008

म्याग्दी जिल्ला परिचय

१. ऐतिहासिक पृष्ठभूमिः
नेपालको मध्य-पश्चिमी पहाडमा अवस्थित, पुर्वमा कास्की र पर्वत, पश्चिममा बागलुङ, डोल्पा र रुकुम, उत्तरमा मुस्ताङ र डोल्पा तथा दक्षिणमा बागलुङद्वारा परिवेष्ठित ८३º०८" देखि ८३º५३" पुर्वि देशान्तर र २८º२०" देखि २८º४७" उत्तरी अक्षांस अर्न्तर्गत रहेको भू-भाग म्याग्दी जिल्ला अर्न्तर्गत पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग कि.मी. (२,२९,७०६ हे.) रहेको छ । जिल्लाको वर्तमान सिमाना २०३१ सालमा पर्वत र मुस्ताङबाट २० गाविसहरु (गाउँ पंचायत) यस जिल्लामा गाभिन आएपछि कायम हुन आएको हो । हाल यो जिल्लामा ४० गाविस रहेका छन् । २०१८ सालको सीमा विभाजन अनुसार गण्डकी पारिका इलाकाहरु क्रमशः मुस्ताङ र पर्वत जिल्लामा रहेका थिए । तत्कालीन म्याग्दी जिल्लामा २१ गाविस (गाउँ पंचायत) मात्रै रहेका थिए ।
१.१ नामाकरणः
इतिहासमा प्रसिद्ध पर्वत राज्य अर्न्तर्गत पर्ने यस म्याग्दी जिल्लाको नामाकरण २०१८ सालको जिल्ला विभाजनमा प्रथम पटक भएको पाइन्छ । प्रसिद्ध हिमशिखर, तालतलैया, नदीनाला र धार्मिक स्थलको नाउँबाट अञ्चल तथा जिल्लाको नामाकरण गर्ने शिलशिलामा त्यतिबेलाको जिल्ला विभाजन अनुसार झण्डै सिंगो जिल्लाभरि नै फैलिएको नदी "म्याग्दी" को नामबाट यस जिल्लाको नामाकरण गरिनु स्वाभाविक र युक्तिसंगत नै थियो । यो जिल्लाको पश्चिमदेखि दक्षिण-पुर्वतिर बग्ने नदीको नाम म्याग्दी रहनुका निम्नलिखित कारणहरु हुन सक्दछन ः क) एक थरीको विचारमा दुर्गा सप्तसतीमा वणिर्त "जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी" भन्ने पादीशको देवी भगवतीका सय नाम मध्ये यौटा "मंगला" नामबाट नै नदीको नाम रहेको र कालान्तरमा अपभ्रंश भै "म्याग्दी" हुन गएको भन्ने भनाइ छ । ख) अर्को थरीको विचारमा नदीको पुरानो नाम "मायानदी" रहेको र यसको अपभ्रंश भई मयाङ्दी हुँदै म्याग्दी नदी भएको हो भन्ने भनाइ पनि छ । ग) मगर क्षेत्रभित्र पर्ने यो जिल्लाका वस्ती, गाउँ, टोल, नदीनालाको नाम मगर भाषामा नै राखिएकोले यो नदीको नाम पनि मगर भाषामा नै राखिएको हुनुपर्दछ । समालवंशी मल्लहरुले पर्वत राज्यको एकीकरण गर्नुपुर्व यो नदीको उद्गमदेखि कालीगण्डकीमा विलय हुँदासम्मको सम्पुर्ण भू-भाग (ताकम, पुला र ज्यामरुककोट) मा थापाहरुको राज्य कायम भएको थियो । ती थापाहरुको वंशावली अनुसार तिनीहरु क्षेत्रीय वंशका बगाले थापा थिए, तापनि प्रसिद्ध समाजशास्त्री डोरबहादुर विष्ट र फ्रेन्च इतिहासकार हेमिल्टनको मान्यता अनुसार कर्णाली प्रदेशका खस तथा मगरातका मगरहरुले भारतीय ब्राम्हणहरुबाट यज्ञोपवित (जनै) ग्रहण गरी आफूलाई क्षेत्री र ठकुरीमा रुपान्तरण गरेका थिए । ताकम, पुला र ज्यामरुककोटमा राज्य गर्ने थापा रजौटाहरुले जनै ग्रहण गरेर आफूलाई क्षेत्री घोषणा गरेको हुनुपर्दछ र ती थापाहरु "मेङ" उपथरकै मगर हुनुपर्दछ । जसले गर्दा उनीहरुको राज्य अर्न्तर्गत बग्ने नदी मेङदी भयो । अर्थात् थापा राज्य अर्न्तर्गत बग्ने नदीको नाम थापा नदी (मेङ-थापा र दी-नदी) रहन गयो । किनकि मगर जनजिब्रोमा अझै पनि म्याग्दी नदीलाई "मेङदी" भनेर भनिन्छ । १.२ पौराणिक कालको म्याग्दीः
पुराणप्रसिद्ध ऋषि जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको कुरा पुराणहरुमा बर्णन गरिएको पाइन्छ । जडभरत गुफा गलेश्वरमा रहेको छ । रघुगंगा गलेश्वर छेउबाट नै बग्दछ । त्यसैले वर्तमानमा "राखु" नामले प्रचलित गाउँ नै राजा रहुगणको राजधानी हुनुपर्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ । अर्का पुराण प्रसिद्ध ऋषि पुलत्स्यको आश्रम "पुला" (पक्षै) पनि वर्तमान पूलाचौर गाविसमा रहेको छ । मुनिवर पुलत्स्यका छोरा विश्वका छोराहरु आफ्ना बाजेको आश्रममा जन्मी हुुर्के बढेको कुरा पुराण, महाभारत तथा रामायणमा उल्लेख भएको पाईन्छ । जस अनुसार लंकाका प्रतापी अनार्य राजा "रावण" को जन्मभूमि पनि यही क्षेत्र हो भन्ने कुरा प्रमाणित हुन्छ । त्यसैले धार्मिक मात्रै होइन पौराणिक दृष्टिले पनि म्याग्दी जिल्ला महत्वपुर्ण रहेको छ ।
१.३ प्राचीन म्याग्दीः
प्रमाणिकताको हिसाबले नेपालको सवभन्दा पुरानो राजनैतिक कालखण्ड "किराँत काल" नै हो । नेपालमा गोपाल, महिषपाल र किराँतहरुको राज्यशासन रहेको समयको यस क्षेत्रको इतिहास लिखितमा मात्रै होइन श्रुति, स्मृतिमा पनि पाइदैन। लिच्छवीकालीन इतिहासमा राजा मानदेवले गण्डकीपारी मल्लपुरीको विद्रोह दमन गरेको कुरा उल्लेख छ। मानदेव प्रथमको मुद्रा "मानाङ्क" बागलुङमा पाइएको हुनाले मल्लपुरी भनेको बागलुङ, बेनी यतै कतै हुनुपर्छ भन्ने अनुमान सम्म गर्न सकिन्छ । अझ बागलुङ भन्दा बेनी बजार पुरानो वस्ती मानिने हुनाले वर्तमानको म्याग्दी नै मल्लपुरी होला भन्न सकिन्छ । संभवतः मगरातलाई नै मल्लपुरी भनिएको पनि हुन सक्छ ।
इशापुर्व ३,१०० मा मंगोलियादेखि पामीर पठार भित्रको भूभागमा भीषण भौगर्भिक प्रलय भएकोले मंगोलहरु बर्साई सरेर हिमालयदेखि दक्षिण तर्फलागेको संकेत मिल्दछ । यो कुरासँग मिल्दोजुल्दो प्रसंग (वृतान्तहरु) बाईवल, मनुस्मृति र मून्धुम ग्रन्थमा पनि पाईन्छ । वर्तमान म्याग्दी जिल्लाको दक्षिण पश्चिममा प्राचीनकालमा थापाहरुको राज्य रहेको कुरा माथि नै उल्लेख भैसकेको छ । "थापा" शब्दले थर होइन वंश जनाउँछ । जसको अर्थ तिव्वती भाषामा "मंगोल" वा "मंगोलियाई" अर्थात् मंगोलियाका बासिन्दा भन्ने जनाउँछ । अर्थात् मंगोलियाबाट बसाइँ सरेर आएका मंगोलहरु नै प्राचीन मगरहरुका पुर्खा हुन् र यो क्षेत्रमा मंगोलमूलका मगरहरुको राज्य कायम भएको थियो भन्ने कुरा प्रमाणित हुन्छ । अहिलेसम्म पनि ताकम, विम, निस्कोट, पुला, घतान, गाज्ने, ज्यामरुक, राखु आदि परंपरादेखि मानिदै आएका कोटहरु छन् । कोटको अर्थ राज्य हुन्छ । जति ठाउँमा कोटहरु रहेका थिए त्यति नै ठाउँमा साना साना मगर रजौटाहरु रहेका थिए भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।
१.४ थापा राज्यकालः
वि.सं. १२४६ तिर प्रथम थापा राजा कालु थापाले झन्डै वर्तमान म्याग्दी जिल्ला भरी फैलिएको ताकम राज्यको स्थापना गरेका थिए । चार हजार पर्वत भनी मानिने यो थापा राज्यमा थापाहरुले ३०० वर्षम्म शासन गरेका थिए । थापा राजाहरुले पूराना राजवंशी मगरहरुको चर्को शोषण, दमन, मगरभाषा (खामकुरा) मा प्रतिवन्ध लगाएको आदि कारणले थापाहरुको शासनकाल आम जनताको लागि सन्तोषजनक थिएन । आफूलाई क्षेत्री भनाउन थालेका थापाहरुले मगरभाषा प्रति दूराग्रह राखेको हुनुपर्छ । यद्यपि समाजशास्त्री एम.एस.थापाको फरक भनाइ अनुसार पर्वते मल्ल राजाहरुले आफ्नो राज्यको सीमाभित्र मगर कुरा गरेमा चार पैसा दण्ड लाग्ने नियम बनाएका थिए । जे भएपनि थापाहरुले जनतालाई रिझाउन नसकेकोले गुल्मी-प्यूठान तिरका मगरहरुले कर्णाली प्रदेशका मल्ल राजा आनम्म (आनन्द बम) लाई निम्त्याए भने उनकै नाति डिम्ब बमलाई ताकमेली मगरहरुले थापा राज्य हडप्नमा मद्दत पुर्‍याएको कुरा मल्ल वंशावलीमा उल्लेख भएको पाइन्छ ।
१.५ मल्लकालीन म्याग्दीः
वि.सं. १५४५ मा डिम्व बम मल्लले ताकमेली मगरहरुको सहयोगमा ताकम, पुला र ज्यामरुकका थापा राज्य लगायत गल्कोट समेतको आठ हजार पर्वत पनि आफ्नो राज्यमा गाभे । पर्वत राज्य वर्तमान म्याग्दी, डोल्पा, बागलुङ, पर्वतका साथै मुस्ताङसम्म फैलिएको थियो । पुलाको गाज्नेमा राजा डिम्बद्वारा स्थापित जगन्नाथजीको मन्दिर अध्यावधि रहेको छ । बागलुङमा रहेको प्रसिद्ध भगवती कालीको मन्दिर डिम्बका नाति प्रतापी नारायण मल्लले स्थापना गरी तानसेनका सेनवंशी राजा मणिमुकुन्द सेनबाट दाइजोमा प्राप्त भएको भगवतीको मूर्ति प्रतिस्थापन गरेका थिए । इतिहासकारहरुले पर्वतमा मल्ल राजाका १४ पुस्ताले शासन गरेको बताए पनि अन्तिम मल्ल राजा किर्तिवमले पुलामी बानियाँहरुको नाममा वि.सं. १८३६ मा गरिदिएको ताम्रपत्रमा राजा-९ स्पष्टरुपमा अंकित भएको हुँदा मल्ल वंशका नौ वटा राजाले मात्र पर्वतको राज्य समालेको प्रमाणिन हुन आउँछ । रणबहादुर शाहको राज्यकालमा बहादुर शाहले पाल्पाली राजाको सहयोगमा सैनिकको घेरामा पारी पर्वतका राजालाई आत्मर्समर्पण गर्न लगाई शक्तिशाली पर्वत राज्यलाई नेपालमा गाभेका थिए । मल्लकालीन पर्वत राज्यद्वारा संचालित २२ खानी मध्ये १८ वटा खानी वर्तमान म्याग्दी जिल्ला भित्रै रहेको र बेनी बजारको मध्यभागमा टक्सार स्थापित थियो । जुन म्याग्दी जिल्ला प्रशासन कार्यालय निर्माण गर्दा भत्काइएको थियो । वि.सं. १९७४ मा वीर शमसेरको शासनकालमा खानी गोश्वारा कार्यालय खारेज भएपछि टक्सारी काम बागलुङमा सारिएको थियो । राणाकाल र त्यसपुर्वको शाह शासन कालभरि वर्तमान म्याग्दी जिल्ला पाल्पा जिल्ला प्रशासन अर्न्तर्गत रह्यो । १९८५ मा बागलुङमा छोटी गौडा स्थापना भएपछि प्रशासनिक तथा न्यायिक काम त्यसैबाट हुँदै आएकोमा २०१८ सालको जिल्ला विभाजनले अलग अस्तित्व प्रदान गरेको हो ।
१.६ भाषाः
यस जिल्लामा जातीय विविधता अनुरुप भाषिक विविधता पनि रहेको पाइन्छ । बहुसंख्यक मानिसहरु नेपाली भाषा नै बोल्दछन् र लेखाइमा सवै जातिहरु नेपालको राष्ट्रभाषा देवनागरी लिपिमा नेपाली भाषा नै प्रयोग गर्दछन् । साथै यहाँ अन्य विभिन्न भाषाहरु पनि बोलिन्छ । जस्तो मगर समूहमा मगर भाषा, नेवार समूहमा नेवारी भाषा, छन्त्याल समूहमा छन्त्याल भाषा, थकाली समूहमा थकाली भाषा र केही मात्रामा गुरुङ भाषा पनि बोल्ने गरेको पाइन्छ ।
१.७ जनजीवनः
यस जिल्लामा विभिन्न जातजातिहरु बसोबास गरेकोले जातीय विविधता पाइन्छ । बहुसंख्यक मात्रामा मगर जातिको अतिरिक्त बाहुन, क्षेत्री, ठकुरी, नेवार, गुरुङ, गिरी, सार्की, कामी, दमाई, थकाली, छन्त्याल र अन्य जातिहरु बसोबास गरेको पाइन्छ । प्रायजसो पहाडी र लेकाली डाँडाकाडाहरुमा बसोबास गरेका यी मगर जातिका थरहरुमा पुन, गर्वुजा, पुर्जा, पाईजा, सिन्थानी, चोचाङ्गी, सिंजाली, तिलिजा, जुग्जाली, रोका, बुढाथोकी, थजाली, बुदुजा, राना, घर्ती, शेरपुन्जा, राम्जाली, आले, थापा, श्रीष, प्राईपुन, फगामी, खजाङनी, धिमेल आदि रहेको पाइन्छ । बाहुन, क्षेत्रीहरु सदरमुकाम तथा आसपासका गाउँहरु र केही समथर तथा सोता भागहरुमा बसोबास गरेको पाइन्छ । बहुसंख्यक पूर्वियाको अतिरिक्त नगण्य मात्रामा कुमाईहरु पनि रहेको बाहुन जातिका थरहरुमा पौडेल, सुवेदी, आचार्य, रेग्मी, ढुंगाना, रिजाल, पराजुली, सापकोटा, गौतम, अधिकारी आदि छन् । क्षेत्रीका थरहरुमा कार्की, घिमिरे, भण्डारी, थापा, खत्री, खड्का बानियाँ, चोखाल, बोगटी, महत, रावल, घर्ती, बरुवाल र ठकुरीमा मल्ल, सेन, वम, सिंह, शाही र हमाल प्मुख रुपमा रहेका छन् । प्रायजसो व्यापारिक र घाट परेको ठाउँमा नेवार र थकालीहरुको बसोबास रहेको पाइन्छ ।
१.८ रीतिरिवाजः
हिन्दूहरुले जन्मदाँ छैठी गर्ने, न्वारान गर्ने, छोराछोरीको हाँगाको पुस्ता गनी नाता छुट्याई विवाह गर्ने र मृत्यु पछि सकभर कालीगण्डकीको किनारमा र टाढा पर्नेहरुले आफ्नो नजिकमा बग्ने नदीको किनारमा मृतकलाई दाहसंस्कार गर्ने गर्दछन् । दाहसंस्कार गर्दा जलाउने वा गाड्ने चलन छ । मृत्यु पश्चात नेवार, क्षेत्री, ब्राम्हणले एकै किसिमको प्रक्रिया जस्तै पिण्डदान, द्रव्यदान, गौदान आदि गर्ने चलन छ भने अन्य मगर, थकाली, गुरुङ जातिमा आफ्नै परम्परा अनुसार काजक्रिया गर्ने चलन छ । विवाहमा बाहुन, क्षेत्री तथा नेवारहरुकोमा मागी विवाह गर्ने चलन छ भने मगर समुदायमा मामाकी छोरी विवाह गर्ने र थकाली समुदायमा मामा तथा फुपूकी छोरी विवाह गर्ने चलन रहेको छ । हाल आएर प्रेम विवाह गर्नेहरुको संख्यामा पनि वृद्धि हुन थालेको छ । १.९ लवाइखवाईः
यहाँका मानिसहरु भू-बनोट, हावापानी, प्राकृतिक स्वभाव र जातीय विविधता अनुरुप भेषभुषा लगाउने गरेको पाइन्छ । गुरुङ मगरका महिलाले चोलो लगाउने, बर्को (छेकी) ओढ्ने, सारी अथवा लुङ्गी लगाई पेटी अथवा पटुका बाँध्ने र पछ्यौरा ओढ्दा टाउकोमा मजेत्रो पार्ने गर्दछन् । पूराना महिलाहरु त अरु गरगहनाको अलावा ओठसम्म आउने गरी झुम्के बुलाकी पनि लगाउने गर्दछन् । बाहुन, क्षेत्री र वैश्यका महिलाहरु साधारण चोलो ब्लाउज, सारी, पछ्यौरा, पटुका, पेटिकोट, लुङ्गी लगाउने र बाँध्ने चलन भएपनि आधुनिक पहिरनका सामानले सवै जातिका महिलाहरुलाई प्रभाव पारेको पाइन्छ । पुरुषहरुमा लेकाली भेगमा भोटो, कछाड लगाउने चलन छ भने तल्लो भेग र सदरमुकाम आसपासमा दौरा, सुरुवाल, कोट, पाइन्ट, कमिज, जाँगे, टोपी र ब्राम्हणहरु धोती लगाउँछन् । खानपिनमा लेकाली भेगमा गहुँ, मकै, कोदो, जौ, उवाँ, फापर साथै न्यून मात्रामा भात खाने चलन छ । बेसीतिर भात, रोटी, ढिंडो, मकैको आटो, दाल, तरकारी, सागसब्जी आदि खाने गर्दछन् ।
१.१० धर्मः
यस जिल्लामा हिन्दू र बौद्ध धर्मको बाहुल्यता रहेको पाइन्छ । छिटफुट रुपमा इस्लाम र इसाई धर्म मान्नेहरु पनि भेटिन्छन् । २. संक्षिप्त चिनारी
२.१ भौगोलिक अवस्थितिः
८३º०८" देखि ८३०५३" सम्म पूर्वि देशान्तर २८०२०" देखि २८०४७" सम्म उत्तरी अक्षांश उचाई : न्यूनतम समुद्री सतह ७९२ मीटर देखि (रत्नेचौर गाविस) अधिकतम समुद्री सतह ८१६७ मीटर सम्म (धौलागिरि हिमाल) क्षेत्रफल : २,२९७.०६ वर्ग कि.मी. -२,२९,७०६ हेक्टर) भू-स्वरुप : बेंसी क्षेत्र ८% : उच्च पहाडी क्षेत्र ५६% : हिमाली क्षेत्र ३६%
२.२ राजनीतिक तथा प्रशासनिक विभाजनः
विकास क्षेत्र : पश्चिमाञ्चल अञ्चल : धौलागिरि सिमाना : पुर्वमा : मनाङ, कास्की र पर्वत पश्चिममा : बागलुङ र रुकुम उत्तरमा : डोल्पा र मुस्ताङ दक्षिणमा : बागलुङ सदरमुकाम : बेनी निर्वाचन क्षेत्र : एक इलाका : एघार गाविस : एक्चालिस वडा : ३६९
२.३ हावापानीः
अर्ध-उष्ण (१००० मीटर भन्दा कम उचाइका क्षेत्रहरु) क्षेत्रः कालीगण्डकी नदी तथा म्याग्दी नदीको तल्लो भेगका किनारी भू-भागहरु सम-शितोष्ण (१००० देखि २००० मीटरको उचाइका क्षेत्रहरु) क्षेत्रः मध्यपहाडी क्षेत्रहरु शितोष्ण (२००० देखि ५००० मीटरसम्मको उचाइका क्षेत्रहरु) क्षेत्रः अग्ला पर्वतीय भागहरु अल्पाईन (५००० मीटर भन्दा माथिका सम्पुर्ण हिमाली क्षेत्र) क्षेत्रः हिमरेखा भन्दामाथि जहाँ वर्षौभरि हिउँले ढाकिएको हुन्छ । वर्षाः वाषिर्क अधिकतम २९६० मि.मी सरदर वाषिर्क न्यूनतम ४०७ मि.मी. सरदर तामक्रमः वाषिर्क औसत अधिकतम ३६० सेल्सियस वार्षिक औसत न्यूनतम ३० सेल्सियस
२.४ प्राकृतिक स्रोतहरुः
नदीः १) कालीगण्डकी सहायक नदीहरुः कागखोला, बोक्सीखोला, म्रिस्त्रीखोला, रघुगंगा, वेगखोला, घारखोला आदि । २) म्याग्दी खोला (उद्गम धौलागिरि हिमाल) सहायक नदीहरुः गुर्जाखोला, मराङखोला, दरखोला, रितुङखोला, दाङखोला अर्जेखोला आदि । कुण्डहरुः भू-तातोपानी (तातोपानी गाविस) सिंगा तातोपानी (सिंगा गाविस) दग्नाम तातोपानी (दग्नाम गाविस) झरनाः रुप्से छहरा (दाना गाविस) गल्छिः अन्ध गल्छि (६९८७ मी. गहिरो, दाना गाविस) हिमालयः धौलागिरि हिमाल (मुदी गाविस) गुर्जा हिमाल (गुर्जा गाविस) वनस्पतिः सल्लो, साल, ओखर, सिर्मु, उत्तिस, चिलाउने, गुराँस, काफल, मौवा, टुनी, तिंजु, च्यूरी, कटुस, सिमल, फ्लाट, खर्सु, सिनकाउली, वरुवा, धाइरो, बाँस, निगालो आदि । खनिजः तामा, शिलाजित, खरीढुंगा र कालीगण्डकीको किनारमा सुन ।
२.५ पशुपंक्षीः
जंगलीपशुः कस्तूरी, थार, मृग, घोरल, झारल, नाउर, चितुवा, बाँदर, बाघ, भालु, दुम्सी, ब्वाँसो आदि । जंगलीपंक्षीः च्याखुरा, डाँफे, कालिज, तित्रा, ढुकुर, लुइंचे, मोनाल, पेजरा आदि । घरपालुवा पशुः गाई, भैसी, भेडा, बाख्रा, सुँगुर, बंगुर, खच्चर, घोडा, गधा, चौरी आदि । घरपालुवा पंक्षीः कुखुरा, हाँस, परेवा आदि । २.६ पर्यटकीय स्थलः
तातोपानी कुण्डः सिंगा गाविस तातोपानी कुण्डः भू-तातोपानी गाविस घोडेपानीः शिख गाविस पुनहिलः (३२१० मि.) शिख गाविस अन्ध गल्छिः दाना गाविस रुप्से छहराः दाना गाविस ढोरपाटन आरक्षः गुर्जा गाविस धौलागिरि हिमाल I (८१६७ मि.) मुदी गाविस
धौलागिरि हिमाल II (७६५१ मि.) मुदी गाविस
धौलागिरि हिमाल V (७६१८ मि.) मुदी गाविस गुर्जा हिमालः(७१९३ मि.) गुर्जा गाविस
२.७ धार्मिक तथा सांस्कृतिक स्थलः
गलेश्वरः घतान गाविस पौलत्स्य आश्रमः पुलाचौर गाविस महारानी थानः अर्थुङ्गे गाविस शिवालयः अर्थुङ्गे गाविस रिखारः कुइनेमंगले गाविस जगन्नाथ मन्दिरः पुलाचौर गाविस मालिका मन्दिरः विम गाविस गिद्धेश्वरी मन्दिरः हिस्तानमण्डली गाविस ताकमकोटः ताकम गाविस भगवती मन्दिरः भगवती गाविस
२.८ जनसंख्याः
कुल जनसंख्याः १,१४,४४७ पुरुषः ५३,१७८ महिलाः ६१,२६९ औषत परिवार सदस्यः ४.६८ जना जनघनत्वः ५० जना प्रति वर्ग कि.मी. बृद्धि दरः १.३७ प्रतिशत जन्मदरः ४.२१ प्रतिशत मृत्युदरः १.५९ प्रतिशत घरधुरीः २४,४३५ बस्ती संख्याः ५७९ आर्थिक रुपमा सक्रिय जनसंख्याः महिलाः ३२,३७९ पुरुषः २६,४२४ कुल जम्माः ५८,८०३
२.९ पेशाः
कृषि, पशुपालन, ज्यालादारी, वैदेशिक रोजगार, उद्योग, व्यवसाय, होटेल, मेकानिक्स, नोकरी आदि । २.१० शिक्षाः
विद्यालय तर्फ
प्रा.वि.
निमावि
मावि
उमावि
क्याम्पस
सरकारी विद्यालय
१६२
३१
३३


निजी विद्यालय





जम्मा
१६३
३१
३६


अनुमति प्राप्त
२०
२१
१७


समुदायमा व्यवस्थापन हस्तान्तरण
३८
१७
१२


साक्षारता दरः ५४.७
महिला साक्षारता ४५.६
पुरुष साक्षारता ६७.८
श्रोट: जिल्ला बिकास समिति म्याग्दीको होमपेजबाट

No comments:

Post a Comment